दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा गत संस्करणका उपविजेता सुदूरपश्चिम राेयल्सले काठमाडौँ गोल्डेन्सलाई २९ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारे।
बुधवार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६.४ ओभरमै सबै विकेट गुमाउँदै ११८ रनमै समेटियो।
काठमाडौँका ओपनर आकाश त्रिपाठीले ३० बलमा ३४ रन बनाएर टोलीलाई राम्रो सुरुवात दिलाए पनि अन्य ब्याटरहरू प्रभावकारी हुन सकेनन्।
जोन सिम्पसनले २४, भिम सार्कीले १२, मिलिन्द कुमारले ११ तथा रासिद खानले ६ रन मात्र जोड़े।
सन्तोष यादव १ रनमै रनआउट भए।
बलिङतर्फ काठमाडौँका कप्तान करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए।
रासिद खान, मिलिन्द कुमार र सन्नी पटेलले समान २–२ विकेट हात पारे।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २० ओभरमै अलआउट हुँदै १४७ रन बनाउन सफल भयो।
हर्मित सिंहले २० बलमा २ चौका र ६ छक्काको मद्दतले ५३ रनको विस्फोटक पारी खेले।
कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन र आरिफ शेखले २५ रनको योगदान दिए।
अन्य खेलाडीमध्ये ओपनर विनोद भण्डारी र जोस ब्राउन शून्य रनमै आउट भए भने नरेन साउदले ६ र स्कट कुगेलेइजनले १ रन जोडे।
बलिङतर्फ हेमन्त धामी, स्कट कुगेलेइजन र हर्मित सिंहले समान २–२ विकेट लिए।
त्यसैगरी इशान पाण्डे, नरेन साउद र अभिनाश बोहराले १–१ विकेट हात पारे।

