झापा- झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज महिला फुटबलको महाकुम्भ आयोजना हुँदैछ। एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (सोमबार) दिउँसो २:३० बजेबाट शुरू हुनेछ। फाइनलमा दुई विभागीय टोली, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब, उपाधिका लागि आमनेसामने हुँदैछन्।
आयोजक समितिका अनुसार, आजको खेलमा झापाको फुटबलप्रेमीहरूको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ। दुधे रंगशालामा आयोजित प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।
नेपाल पुलिस क्लबले क्वाटरफाइनलमा चर्र बोइज युनाइटेडलाई ८-० को फराकिलो अन्तरले हरायो। त्यस्तै, सेमिफाइनलमा संकटा क्लबलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
पुलिस क्लबका प्रशिक्षक भोला सिलवाल र कप्तान अमृता जैशीले राम्रो तालमेल र नयाँ ऊर्जा प्राप्त गरेका खेलाडीहरूको प्रदर्शनमा विश्वास व्यक्त गरेका छन्।
नेपाल पुलिस क्लबका प्रशिक्षक सिलवालले भने, “हाम्रो टोलीमा रेखा पौडेल र पूजा राना मगरको तालमेल बलियो छ। हामी यसपटक एपिएफलाई हराउँदै उपाधि जित्नेछौँ।” कप्तान जैशी भन्छिन, “हामीले विगतमा एपिएफसँग पराजय भोगेका छौँ, तर आजको खेलमा बदला लिँदै ट्रफी ल्याउनेछौँ।”
एपिएफ फुटबल क्लबले क्वाटरफाइनलमा सिक्किम क्लबलाई ७-० को भारी अन्तरले हरायो। सेमिफाइनलमा नेपाली सेना क्लबसँगको रोमाञ्चक भिडन्तमा एपिएफले पेनाल्टी शुटआउटमा जित हासिल गर्दै फाइनलमा स्थान बनाएको हो।
एपिएफका प्रशिक्षक जिवेश पाण्डे र कप्तान अनिता बस्नेतले टोलीको आत्मविश्वास र तयारीमा भरोसा जनाएका छन्।
एपिएफका प्रशिक्षक जिवेश पाण्डेले आत्मविश्वास व्यक्त गर्दै भने, “हाम्रो टोलीले अहिलेसम्म फाइनलमा पराजय नभोगेको छ। हामी यसपटक पनि उपाधि रक्षा गर्नेछौँ।” कप्तान अनिता बस्नेतले भने, “हामी सधैँ ट्रफीका लागि खेल्छौँ। झापामा हामी पुलिसलाई रोक्दै अर्को उपाधि थप्नेछौँ।”
फाइनलका लागि सामान्य टिकट दर ३०० र ५०० रुपैयाँ, भिआइपी टिकट १००० रुपैयाँ तोकिएको छ।
विजेता टोलीलाई नगद १० लाख १० हजार रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्। हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

