झापा — झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली, एपीएफ क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुदैँछन्।

फाइनल खेल भोलि (सोमबार) दिउँसो २:३० बजे सुरु हुनेछ।

दुधे रंगशालामा आज आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।

एपीएफका प्रशिक्षक जिबेश पाण्डेले फाइनलमा अहिलेसम्म पराजय नभोगेको आत्मविश्वास व्यक्त गर्दै भने,

“हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन। यसपटक पनि हामी उपाधि रक्षा गर्नेछौँ।”

त्यस्तै, कप्तान अनिता बस्नेतले थपिन्,

“हाम्रो टोली सधैं ट्रफीका लागि खेल्छ। झापाको मैदानमा हामी पुलिसलाई रोक्दै अर्को उपाधि थप्नेछौँ।”

उता, नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिल्वालले भने रेखा पौँडेल र पुजा राना मगरको तालमेललाई टोलीको मुख्य बल बताउँदै भने,

“हाम्रो टोलीमा धेरैपछि रेखा र पुजा सँगै खेलिरहेका छन्। अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन्। त्यसैले यसपटक हामी एपीएफलाई हराउँदै उपाधि जित्नेछौँ।”

पुलिसकी कप्तान अमृता जैशीले भने विगतका पराजयको बदला झापामै लिने दृढता प्रकट गरिन्।

“हामीले विगतमा धेरैपटक एपीएफसँग पराजय व्यहोरेका छौँ, तर यसपटक बदला लिँदै ट्रफी लिएर जानेछौँ। झापाको दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउनेछ,” उनले भनिन्।

एपीएफ क्लब महिला फुटबलमा एक सफल टोली मानिन्छ — यसअघि खेलिएका अधिकांश राष्ट्रिय प्रतियोगितामा उनीहरूले उपाधि जितेका छन्। फाइनलमा कहिल्यै हार व्यहोर्नु नपरेको इतिहासले टोलीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ।

त्यस्तै, नेपाल पुलिस क्लब पछिल्लो समय बलियो स्क्वाड निर्माण गर्दै आएको छ। अनुभवी रेखा पौँडेल, पुजा राना मगर जस्ता खेलाडीहरूको पुनरागमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ।

फाइनल खेलमा झापाका फुटबलप्रेमीहरूको ठूलो भीड हुने अनुमान गरिएको छ।
भोलि दिउँसो हुने फाइनलमा देशका शीर्ष महिला खेलाडीहरू एउटै मैदानमा भिड्दै गर्दा, झापाको दुधे रंगशाला एक निर्णायक क्षणको साक्षी बन्नेछ।

आयोजक समितिका अनुसार दर्शकका लागि टिकट दर सामान्यतर्फ ३०० र ५०० रुपैयाँ तथा भिआइपीतर्फ १,००० रुपैयाँ तोकिएको छ।

विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन्।

हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile