झापा- झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् ।

अघिल्ला सिजनसम्मका सबै महिला गोल्डकपको उपाधि जित्न सफल एपिएफ यसपटक पनि मुख्य उपाधि दाबेदारको रूपमा मैदानमा उत्रने तयारीमा छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको एपिएफलाई पुनः उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ ।

नियमित गोलरक्षक एन्जिला तुम्बापो, स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर प्रिति राई टोलीमा रहेका छैनन् । यी खेलाडीहरूको अनुपस्थितिले टोलीको आक्रमण र गोलकिपिङ दुवैमा असर पार्न सक्ने अनुमान गरिएको छ ।

पाहुना टोली सिंग्लिङ स्पोर्टिङ क्लब भने उत्साहित मनोबलका साथ मैदानमा उत्रने तयारीमा छ । भारतको एफसी कपमा खेलिसकेकी निमिता गुरुङ र मुस्कान सुब्बा तथा अन्डर–२० राष्ट्रिय टोलीमा खेलिसकेकी सिम्रन गुरुङसहितको टोली लिएर प्रशिक्षक लाकु फुर्बी भुटिया मैदानमा उत्रनेछिन् ।

“एपिएफ बलियो टोली हो, तर हामी जितका लागि मैदानमा उत्रनेछौँ,” प्रशिक्षक भुटियाले खेलअघिको पत्रकार भेटघाटमा भनिन् । उनका अनुसार टोलीले आत्मविश्वासका साथ आक्रमक फुटबल प्रस्तुत गर्नेछ ।

एपिएफकी कप्तान अनिता बस्नेतले पनि टोलीले अघिल्ला प्रतियोगितामा देखाएको लयलाई निरन्तरता दिने लक्ष्य रहेको बताइन् । “हामी समन्वय, अनुशासन र योजनाबद्ध खेलमा विश्वास गर्छौं । उपाधि रक्षा नै हाम्रो मुख्य लक्ष्य हो,” उनले भनिन् ।

आजको खेल दुधे रंगशालामा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

एकातिर उपाधि दाबेदार एपिएफको अनुभव र रणनीति, अर्कोतिर सिक्किमेली टोलीको जोस र गतिशीलता । यी दुईबीचको भिडन्त रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिम त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *