काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लीले सोमबार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान खेलाडी खोज्न लागेको हो ।

ट्यालेन्ट हन्ट सोमबार बिहान ७ बजेबाट सुर्खेतको विरेन्द्रनगरमा रहेको इन्डोर हलमा आयोजना हुने कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले जानकारी गराएका छन् ।

बस्नेतका अनुसार अघिल्लो दिनसम्म दुई सय भन्दा बढी युवा खेलाडीले ट्यालेन्ट हन्टमा सहभागी हुन निवेदन दिएका छन् । ‘हामीले खुलाएको दर्ता फारममार्फत मात्रै दुई सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी हुन इच्छुक देखिनुभएको छ,’ प्रशिक्षक बस्नेतले भने, ‘फारम भर्न कोही छुट्नु भएको छ भने पनि हामी उहाँहरुलाई ट्यालेन्ट हन्टमा सहभागी गराउने छौं ।’

यस्तै, ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशका विभिन्न शहर र धार्मिक स्थलहरुमा ट्रफी यात्रा गर्ने तयारी गरेको छ । ट्रफी यात्रालाई कर्णाली प्रदेश क्रिकेट एसोसिएसनले सहजीकरण गर्नेछ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका विपिन शर्मा यसपटक कर्णाली याक्समै रिटेन भएका छन् । उनी पहिलो संस्करणको प्रतियोगिताको उदयीमान खेलाडी घोषित भएका थिए । सोमबार हुने ट्यालेन्ट हन्टमा सहभागी भएका विपिनले आफूजस्तै अर्काे ट्यालेन्ट आउनेमा आशावादी रहेको बताएका छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *