नेपाल टि–२० फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (NPL) का लागि बिराटनगर किड्सले आफ्नो नयाँ म्यास्कट “पूर्वी राजा” सार्वजनिक गरेको छ। क्लबले यस म्यास्कटमार्फत पूर्वाञ्चल क्षेत्रको पहिचान, संस्कार र शक्ति–साहसको प्रतीकलाई टिमको चरित्रसँग जोड्ने प्रयास गरेको जनाएको छ।
प्राकृतिक स्रोत, संस्कृति, साहस र संकल्पको प्रतिकको रूपमा रहेको पूर्वी राजा कोशी प्रदेशको ऐतिहासिक, सांस्कृतिक र भूगोलिक प्रतिनिधिको रूपमा प्रस्तुत गरिएको क्लबले विज्ञप्तिमार्फत जनाएको छ। यस म्यास्कटको माध्यमबाट क्लबले न केवल क्रिकेट मैदानमा शक्ति र प्रतिस्पर्धात्मकता देखाउने लक्ष्य राखेको छ, तर बाहिर समुदायिक सहभागिता, समर्पण र एकताको सन्देश फैलाउने उद्देश्य पनि लिएको छ।
बिराटनगर किड्सले अघिल्ला वर्षदेखिको आफ्नो समर्थन, स्थानीय पहिचानप्रतिको सम्मान र पूर्वाञ्चलका जनताको भावना झल्किने म्यास्कटमार्फत “गौरव र जिम्मेवारीको पहिचान” थप सशक्त रूपमा देखिने विश्वास व्यक्त गरेको छ।
क्लबका टिम निर्देशक दिपेन्द्र चौधरीको हस्ताक्षर रहेको विज्ञप्तिमा उल्लेख छ —
“पूर्वी राजा केवल टिमको पहिचान मात्र होइन, यो शक्ति र संभावनालाई जुटाउने प्रेरणा पनि हो। NPL नजिकिँदै गर्दा पूर्वी क्षेत्रको आवाज सशक्त रूपमा प्रस्तुत गर्न यो सही समय हो।”
बिराटनगर किड्सले आगामी दिनमा पूर्वाञ्चलका युवाहरू र समर्थकहरूसँग प्रत्यक्ष सम्पर्क कार्यक्रमसहित म्यास्कटमार्फत विभिन्न सामाजिक अभियान र सांस्कृतिक प्रोत्साहन कार्यक्रम अघि बढाउने तयारी गरेको जनाएको छ।

