काठमाडौँ — विश्व खेलकुदमा ‘मिनी ओलम्पिक’का रूपमा चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदक विजेता केन्याली धावक जोन केलाई धारा नेपालगन्ज म्याराथनका सदभावना दूत नियुक्त भएका छन्। उनले धारा नेपालगन्ज म्याराथनको भगिनी कार्यक्रम गौघाट ग्रीन रन मा पनि सहभागिता जनाएका थिए।

विश्वप्रसिद्ध सिंगापुर, मुम्बई, ब्रसेल्स, र टोरन्टो वाटरफ्रन्ट म्याराथन विजेता केलाईले नेपालमा आयोजित दौडमार्फत जलवायु परिवर्तनबारे जनचेतना फैलाउने प्रयासलाई प्रेरणादायी भनेका छन्। उनका अनुसार, “आयोजकले जलवायु परिवर्तनबारे सन्देश दिने अत्यन्तै सरल र शान्तिपूर्ण तरिका अपनाएका छन्। यस अभियानलाई व्यवहारिक बनाउन वृक्षारोपण र प्लास्टिकको प्रयोगमा कमी गर्न आवश्यक छ।”

धारा नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित दूत बनेका केलाईले विश्वस्तरीय धावकलाई सहभागी गराउन समन्वय गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार, यसले प्रतियोगितालाई भविष्यमा गोल्ड लेभल म्याराथन मा रूपान्तरण गर्न सहयोग गर्नेछ।

उनी हरेक वर्ष नेपालमा आयोजना हुने म्याराथन तथा रनिङ इभेन्टमा नियमित सहभागिता जनाउने योजना पनि राखेका छन्। साथै, उनले रनिङ क्लिनिक र प्रशिक्षण कार्यक्रमहरूमा समय समर्पण गर्ने प्रतिवद्धता जनाए।

केलाईले आफ्नो अनुभव साझा गर्दै भने, “म एमेच्योर र एलिट खेलाडीलाई प्रशिक्षण दिन सक्छु, युवालाई मार्गनिर्देशन र प्रेरणा दिन सक्छु। एथलेटिक्स प्रतियोगिता आयोजना र व्यवस्थापनमा पनि सघाउन तयार छु।”

उनका अनुसार, केन्यामा रहेका रनिङ एकेडेमीहरूले नेपालका धावकका लागि तालिम र अभ्यासका अवसर दिन सक्छन्। उनले धारा नेपालगन्ज म्याराथनमार्फत नेपाल र केन्याबीच अनुभव, संस्कृति र खेल विकासका आदान–प्रदान कार्यक्रम अघि बढाउने योजना पनि प्रस्तुत गरे।

नेपालमा दौडको लोकप्रियता बढ्दै गएको उल्लेख गर्दै उनले भने, “युवामा आकर्षण बढ्दो छ। यसलाई अझ सशक्त बनाउन स्थानीय र जिल्ला स्तरमा धेरै प्रतियोगिता आयोजना गर्न जरुरी छ।”

अन्त्यमा उनले सन्देश दिए —
“नेपालमा एथलेटिक्समा ठूला सम्भावना छन्। तर प्राविधिक प्रशिक्षण र पूर्वाधारको अभाव छ। त्यसैले एथलेटिक्सको आधारभूत क्षमता विकास गर्न आवश्यक छ।”

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *