काठमाडौँ — नेपालको क्रिकेट इतिहासमा अर्को सुनौलो पाना थपिएको छ । नेपाल लगातार दोस्रोपटक आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ ।
ओमानको मस्कटमा भइरहेको ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक (EAP) छनोटको सुपर सिक्स चरणमा बुधबार भएका खेलहरू नेपालको पक्षमा गएपछि नेपाल र ओमान दुवैले विश्वकपको टिकट पक्का गरेका हुन् ।
दिनको पहिलो खेलमा कतारले जापानलाई ३ विकेटले पराजित गर्यो । त्यसपछि भएको अर्को खेलमा यूएईले सामोआलाई ७७ रनले हराएपछि नेपाल र ओमान एक–आपसमा खेल्नुअघि नै विश्वकपमा छनोट भएका हुन् ।
नेपाल र ओमानले सुपर सिक्स चरणमा अहिलेसम्म यूएई र कतारलाई पराजित गर्दै समान ६ अंक जोडिसकेका छन् । नियमअनुसार शीर्ष तीन टोली विश्वकपमा पुग्ने व्यवस्था भएकाले अब बाँकी खेलहरूको परिणामले नेपालको छनोटमा असर पार्दैन ।
नेपालले समूह चरणमा कुवेत र जापानलाई हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो । अब नेपालले शुक्रबार सामोआसँग सुपर सिक्सको अन्तिम खेल खेल्नेछ । यदि नेपालले ओमान र सामोआ दुबैलाई पराजित गर्न सफल भयो भने यस पटकको छनोट प्रतियोगिताको उपाधि समेत जित्नेछ ।
यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा पहिलोपटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । १० वर्षपछि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपालले पुनरागमन गरेको थियो । त्यतिबेला समूह चरण पार गर्न नसकेपनि दक्षिण अफ्रिकाविरुद्धको नजिकको खेलले नेपालले विश्व क्रिकेटको ध्यान तानेको थियो ।
आगामी ट्वान्टी–२० विश्वकप २०२५ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुनेछ । यस संस्करणमा २० टोली सहभागी हुनेछन् । नेपाल र ओमान हालसम्म क्रमशः १८औं र १९औं टोलीका रूपमा छनोट भएका हुन् ।
अघिल्लो संस्करणका आधारमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, भारत र श्रीलंका (आयोजक) पहिले नै छनोट भइसकेका छन् । अन्य क्षेत्रमा क्यानडा, नेदरल्यान्ड्स, इटाली, जिम्बावे र नामिबियाले पनि स्थान सुनिश्चित गरिसकेका छन् ।

