ओमानको मस्कटमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक (EAP) छनोटको सुपर सिक्समा नेपालले सोमबार कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै नेपाल विश्वकप नजिक पुगेको छ ।
पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको मद्दतमा २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनायो । रोहितले ४१ बलमा ५ चौका र २ छक्कासहित ५८ रन जोडे । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २६ तथा गुल्शन झाले ८ बलमा १६ रनको छोटो तर उपयोगी पारी खेले ।
१४८ रनको लक्ष्य पछ्याएको कतार एक समय सहज अवस्थामा पुगे पनि अन्त्यमा नेपालको उत्कृष्ट बलिङ र फिल्डिङले खेल पल्टाइदियो । कतारका ओपनर इमाल लियानागे र जुबेर अलीले पहिलो विकेटमा १० ओभरमै ७९ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुआत दिलाएका थिए । लियानागेले ३५ बलमा ५ चौका र ३ छक्कासहित ५६ रन बनाए भने जुबेरले ५२ रन जोडे । तर त्यसपछि नेपालका बलरहरूले उत्कृष्ट पुनरागमन गरे ।
नेपालका सन्दीप लामिछानेले घातक बलिङ गर्दै ५ विकेट लिए । उनले इमाल लियानागेलाई बोल्ड गर्दै साझेदारी तोडेपछि कतारको पारी धराशायी भयो । त्यस्तै नन्दन यादवले २ विकेट, दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । फिनिसिङमा दीपेन्द्र र आदिल आलमका रनआउटहरू निर्णायक साबित भए ।
कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो र नेपालले ५ रनको जित सुनिश्चित गर्यो ।
यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको थियो । लगातार दोस्रो जितसँगै नेपाल र ओमानका समान ६–६ अंक भएका छन् । अब बुधबार हुने नेपाल–ओमान खेलले ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्ने औपचारिकता लगभग तय गर्नेछ ।
नेपालले सुपर सिक्सको अन्तिम खेल शुक्रबार ओमानसंग खेल्नेछ ।

