काठमाडौं– नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एकपछि अर्को ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ।

एरिकाले गत असोज १७ देखि १९ सम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । नेपाल प्रहरी श्रीमती संघले आइतबार भृकुटीमन्डस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्दै एरिकालाई २५ हजार पाँच सय ५५ रूपैयाँसहित सम्मान गरेको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेकी हुन् ।

सो अवसरमा महिला प्रहरी संघले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक एवम् १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको थियो । एरिका नेपाल पुलिस क्लबकी खेलाडी पनि हुन् । उनले गत शुक्रबार सम्पन्न च्याम्पियनसिपमा कुमितेमा ६८ केजी तौलमाथि स्वर्ण जितेकी थिइन् ।

उनले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी थिइन् । सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारिन् । कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी पनि हुन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile