काठमाडौँ । रियल माड्रिडका मध्यपंक्ति खेलाडी जुड बिएलिङहमलाई २०२४–२५ को सिजनका लागि इङ्ल्यान्डको वर्षको खेलाडी घोषित गरिएको छ ।
२२ वर्षीय बिएलिङहमले नेसन्स लिगमा ८ खेलमा १ गोल गर्दै अन्तरिम प्रशिक्षक ली कार्स्लीको नेतृत्वमा इङ्ल्यान्डलाई प्रोमोशन दिलाएका थिए । त्यसपछि नयाँ प्रशिक्षक थोमस टुचेलको व्यवस्थापनमा विश्वकप छनोट अभियान सुरु भएको थियो ।
समर्थकहरूको मतदानमा उनले डेक्लान राइस र ह्यारी केनलाई पछि पारे । राइस दोस्रो र केन तेस्रो स्थानमा परेका थिए ।
बिएलिङहम गैर–इङ्लिश क्लबबाट खेल्दा यो अवार्ड जित्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि सन् २००६ मा बायर्न म्युनिखका ओवेन हार्ग्रिभ्सले मात्र यो उपलब्धि हात पारेका थिए ।
बिएलिङहमले अक्टोबर २०२४ मा ग्रीसविरुद्ध नेसन्स लिगमा गोल गरेका थिए भने नोभेम्बरमा आयरल्यान्डविरुद्ध दुई असिस्ट र पेनाल्टी जितेका थिए । त्यसैगरी मार्चमा अल्बानियाविरुद्धको विश्वकप छनोटमा एक असिस्ट पनि गरेका थिए ।
जुलाईमा काँधको शल्यक्रिया गरेपछि लामो समय बाहिर रहेका उनी सेप्टेम्बरमा फर्किएका हुन् । अब उनी अक्टोबर ९ मा वेल्स र अक्टोबर १४ मा लाट्भियाविरुद्ध हुने खेलका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
यसअघि सन् २०२३–२४ मा कोल पामरले यो अवार्ड जितेका थिए भने त्यसअघि लगातार दुई वर्ष बुकायो साकाले जितेका थिए । महिलातर्फको अवार्ड भने यस शरद ऋतुमा घोषणा गरिनेछ । युरोमा लगातार दोस्रो पटक उपाधि जितेकी अलेसिया रुुसोलाई समेत १८ खेलाडीको सुचिमा राखिएको छ ।

