काठमाडौँ । ऋणमा नापोली पुगेका म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रस्मुस होइलुन्डले दुई गोल गर्दै टोलीलाई च्याम्पियन्स लिगमा पहिलो जित दिलाएका छन् । उनले ७९औं मिनेटमा निर्णायक गोल गर्दै नापोलीलाई पोर्चुगलको स्पोर्टिङविरुद्ध २–१ को जित दिलाए ।

होइलुन्डका दुवै गोलमा पूर्व म्यानचेस्टर सिटी मिडफिल्डर केभिन डे ब्रुइनले असिस्ट गरे । यसैबीच, स्पोर्टिङका लागि कोलम्बियाली स्ट्राइकर लुइस सुवारेजले पेनाल्टीमार्फत गोल गरेका थिए ।

पहिलो खेलमा म्यानचेस्टर सिटीसँग २–० ले पराजित भएको नापोलीले यसपटक सकारात्मक परिणाम हासिल गरेको हो ।

२२ वर्षीय होइलुन्डले सेप्टेम्बरको ट्रान्सफर डेडलाइन डेमा सिजनभरि खेल्ने गरी नापोलीमा ऋणमा प्रवेश गरेका थिए । उनी यसअघि युनाइटेडको यो सिजनका पहिलो चार खेलमा समावेश भएका थिएनन् ।

ओल्ड ट्राफोर्डमा दुई वर्ष बिताउँदा उनले च्याम्पियन्स लिगमा ५ गोल गरेका थिए — बायर्न म्युनिखविरुद्ध १ र ग्यालाटासारे तथा कोपेनहेगनविरुद्ध दुई–दुई गोल । तर ती सबै खेलमा युनाइटेड पराजित भएको थियो ।

स्पोर्टिङविरुद्धको जितपछि युइएफासँग कुरा गर्दै होइलुन्डले भने, “यो त्यस्तो रात हो जसको सपना देखिन्छ, च्याम्पियन्स लिगमा खेल्दा।”

उनले थपे, “मैले नापोलीको ब्याजलाई छोएर सेलिब्रेट गरेँ किनकि यहाँ खेल्न पाउँदा खुसी छु । अनि च्याम्पियन्स लिगको ब्याजलाई छोएँ किनकि युरोपमा गोल गर्न मलाई सधैं मन पर्छ।”

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile