काठमाडौं । केयलिन एमबापेको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगमा शानदार जित हात पारेको छ । बुधबार राति अल्माटीस्थित ओरतालिक स्टेडियममा भएको खेलमा स्पेनिस क्लबले घरेलु टोली केयरेत आल्माटीलाई ५–० ले पराजित गर्यो ।
खेलको २५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै एमबापेले खाता खोले । दोस्रो हाफको सुरुवातमै उनले गोलकिपरमाथि लब हानेर दोस्रो गोल गरे भने ७३औँ मिनेटमा रोड्रिगोको पासमा आफ्नो ह्याट्रिक पूरा गरे । यससँगै एमबापेको च्याम्पियन्स लिगमा व्यक्तिगत गोल संख्या ६० पुगेको छ ।
रियलका अन्य दुई गोल सब्स्टिच्युट खेलाडीहरुले जोडे । ८३औँ मिनेटमा एडुआर्डो कामाभिङ्गाले हेडमार्फत गोल गरे भने अतिरिक्त समयमा ब्राहिम डायाजले गोल गर्दै स्कोर ५–० पुर्याए ।

