काठमाडौँ- युनिटी कप टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ । तर, तीन खेलको श्रृंखला भने नेपालले २-१ ले जित्दै ऐतिहासिक सफलता हात पारेको छ ।

शनिबार राति सम्पन्न खेलमा नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाई सहजै पूरा गर्‍यो । वेस्ट इन्डिजका ओपनर आमिर जाङ्गुले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अविजित ७४ रन बनाए भने अर्का ओपनर अकिम अगस्टे ४१ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमै १२२ रनमा अलआउट भयो । नेपालको सुरुवात राम्रो रहे पनि पावरप्लेपछि लगातार विकेट गुमाउँदै टोली धरासायी भयो । ओपनर कुशल भुर्तेलले ३९ रनको योगदान दिए भने कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन बनाए ।

बलिङतर्फ वेस्ट इन्डिजका रेमोन सिमन्ड्सले ४ विकेट लिए भने जेडिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले समान १–१ विकेट हात पारे ।

यद्यपि तेस्रो खेलमा हार बेहोरे पनि नेपालले श्रृंखलाको पहिलो खेलमा १९ रन र दोस्रो खेलमा ९० रनले जित्दै पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्धको द्विपक्षीय टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो पक्षमा पार्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *