काठमाडौं । युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आज वेस्टइण्डिजविरुद्ध ऐतिहासिक क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ।
शारजाहमा हुने सिरिजको तेस्रो तथा अन्तिम खेल नेपाली समय अनुसार मंगलबार बेलुका सवा ८ बजे सुरु हुनेछ। तीन खेलको सिरिज नेपालले पहिले नै २–० ले आफ्नो पक्षमा पारेको छ।
पहिलो खेलमा १९ रनले विजयी बनेको नेपालले दोस्रो खेलमा वेस्टइण्डिजलाई ९० रनले पराजित गरेको थियो। लगातार दुई जितपछि नेपालले सिरिज एक खेल बाँकी रहँदै सुनिश्चित गरिसकेको हो।
टेस्ट मान्यता प्राप्त राष्ट्रसँग पहिलो पटक दुईपक्षीय टी–२० सिरिज खेलिरहेको नेपालका लागि यो ऐतिहासिक उपलब्धि हो। आजको खेलमा जित हात पारे नेपाल पहिलो एसोसिएट राष्ट्रका रूपमा टेस्ट राष्ट्रलाई ३–० ले पराजित गर्ने अभिलेख कायम गर्न चाहन्छ।
यता, वेस्टइण्डिज भने अन्तिम खेलमा जित निकाल्दै सिरिजमा सान्त्वना खोज्ने लक्ष्यमा रहनेछ।

