काठमाडौं, १ साउन – एभरेष्ट महिला भलिबल लिग (EWVL) मा सहभागी मधेश युनाइटेड क्लबले आगामी संस्करणका लागि तयारीलाई तीव्र बनाउँदै चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

मिस नेपाल इन्टरनेशनल २०१७ की विजेता समेत रहेकी शाहले मधेश युनाइटेडसँग ब्रान्ड एम्बासडरका रूपमा जोडिन पाउँदा अत्यन्तै खुशी र गर्व लागेको प्रतिक्रिया दिएकी छन्।

यससँगै क्लबले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई फेरि मार्की खेलाडीको रूपमा निरन्तरता दिएको छ। निरुताले पहिलो संस्करणमा क्लबको प्रदर्शनमा महत्त्वपूर्ण योगदान दिएकी थिइन्।

त्यस्तै, क्लबले प्रशिक्षकमा कोपिला उप्रेतीलाई नियुक्त गरेको छ। कोपिलाले नेपाली भलिबल क्षेत्रमा राम्रो अनुभव र प्रशिक्षणको इतिहास बोकेकी छिन्।

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा भदौ २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने तयारी छ।

मधेश युनाइटेडको यो कदमले लिगलाई थप आकर्षक बनाउने विश्वास लिइएको छ। क्लबको व्यवस्थापनले खेलाडी, प्रशिक्षक र ब्रान्ड एम्बासडरको संयोजनले यसपटक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *