काठमाडाैं। नेपाली महिला फुटबल टिमकी कप्तान तथा इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी सबित्रा (साम्बा) भण्डारीलाई फिनिक्स क्लबले अनुबन्ध गरेको छ। क्लबले उनलाई २०२६/२७ सिजनको अन्त्यसम्मका लागि टिममा भित्र्याएको हो।
नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानी सम्हालिरहेकी सबित्रा लामो समयदेखि देशकै अग्रपंक्तिका फरवार्ड हुन्। अन्तर्राष्ट्रिय मैदानमा उनले नेपालका लागि कैयौं ऐतिहासिक क्षणहरू सिर्जना गरेकी छिन्। अब, यही अनुभव र नेतृत्व क्षमतालाई फिनिक्स क्लबले आफ्नो टिममा समेटेको हो।
क्लबले सामाजिक सञ्जालमार्फत उनको स्वागत गर्दै लेखेको छ:
“नेपाली राष्ट्रिय टोलीकी कप्तान साम्बा भण्डारी हाम्रो फिनिक्स whanau (परिवार) मा स्वागत छ । उनका अनुभव, नेतृत्व र मैदानमा देखिने प्रदर्शन क्लबका लागि अमूल्य हुनेछन्।”
सबित्राले पनि क्लबमा आबद्ध हुन पाउँदा उत्साह व्यक्त गरेकी छिन्। अन्तर्राष्ट्रिय क्लब फुटबलमा थप अनुभव बटुल्दै, नेपाली फुटबललाई विश्वस्तरमा चिनाउने उनको यात्रा अझ फराकिलो हुँदै गएको छ।

