काठमाडौं – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २ गते काठमाडौंमा हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले भाद्र २० देखि २८ गतेसम्म हुने लिगका लागि खेलाडी चयन प्रक्रिया सुरु गर्न लागेको हो।
नेपाली भलिबलको इतिहासमा यो पहिलोपटक ‘प्लेयर अक्सन’ को अभ्यास हुन लागेको हो, जसलाई नेपाली महिला भलिबलको व्यावसायिक युगतर्फको महत्वपूर्ण पाइला मानिएको छ।
अक्सनमा सहभागी हुने ६ फ्रेन्चाइज टोलीले राष्ट्रिय टिमका खेलाडी, नयाँ प्रतिभा र उदीयमान खेलाडीहरूमध्येबाट आफ्नो टिम तयार पार्नेछन्। अक्सन कार्यक्रममा लिगका पदाधिकारी, फ्रेन्चाइज प्रतिनिधि र अन्य खेलकुदकर्मीहरूको उपस्थिति रहनेछ।
इडब्लुभिएलकी सिइओ स्नेभी चापागाईँले भनिन्, “यो केवल अक्सन मात्र होइन, नेपाली महिला भलिबलको ऐतिहासिक टर्निङ पोइन्ट हो। महिला खेलाडीहरू पहिलोपटक पूर्ण व्यावसायिक संरचनामा होमिंदै छन्, जुन सम्पूर्ण नेपाली खेल क्षेत्रका लागि गर्वको विषय हो।”
लिगले महिला भलिबलमा नयाँ ऊर्जा र अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

