काठमाडौं । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पिएसजी) फिफा क्लब विश्वकप २०२५ को उपाधि नजिक पुगेको छ। बुधबार राति अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा पिएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
पिएसजीको शानदार जितमा मिडफिल्डर फाबियन रुइजले दुई गोल गर्दा ओस्मान डेम्बेले र गोनसालो रामोसले एक–एक गोल गरे। पहिलो हाफमै तीन गोल गर्दै पिएसजीले खेलको नियन्त्रणमा लिएको थियो भने दोस्रो हाफमा थप एक गोल गर्दै नतिजा ४–० मा टुंग्यायो।
खेलको छैठौं मिनेटमा फाबियन रुइजले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए। त्यसको तीन मिनेटपछि, ९औं मिनेटमा ओस्मान डेम्बेलेले रियल मड्रिडका डिफेन्डरसँग बल खोसी वान-अन-वान अवस्थाबाट गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए।
२४औं मिनेटमा अशरफ हाकिमीको क्रस पासमा रुइजले आफ्नो दोस्रो गोल गर्दै स्कोर ३–० मा पुर्याए। खेलको ८७औं मिनेटमा बिर्केलाको पासमा गोनसालो रामोसले गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे।
यस सिजन पिएसजीको यो पाँचौं उपाधितर्फको यात्रा हो। यसअघि पिएसजीले लिग वान, कोपा डे फ्रान्स, ट्रफी डेस च्याम्पियन्स र युएफा च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ।
हारसँगै रियल मड्रिड यस सिजन उपाधिविहीन बनेको छ।
अब पिएसजीले जुलाई १४ मा इंग्लिस क्लब चेल्सीसँग उपाधिका लागि भिड्नेछ।

