काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूलाई बुधबार सम्मानसहित नगद पुरस्कार प्रदान गरेका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरे।

तेस्रो थाउलो वर्ल्ड कप (उसु) मा काँस्य पदक जितेका विजय सिंजालीलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ। उक्त प्रतियोगिता जापानमा गत कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासंघको आयोजनामा सम्पन्न भएको थियो।

त्यस्तै, इरानमा गत फागुन २० देखि २५ गतेसम्म सम्पन्न छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा काँस्य पदक जितेकी मनमती विष्ट सहितका खेलाडीहरूलाई १ लाख ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ।

यसैगरी, श्रीलंकामा असोज २० देखि २६ गतेसम्म सम्पन्न काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक जितेका अर्जुन नेपाली सहितका खेलाडीलाई ३ लाख रुपैयाँका दरले नगद पुरस्कार दिइएको छ।

यस सम्मान तथा पुरस्कार वितरण कार्यक्रम राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ बमोजिम असार ९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गरिएको हो।

कार्यक्रमको अन्त्यमा प्रधानमन्त्री ओलीले मलेसियामा सम्पन्न एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिंगापुरलाई पराजित गर्दै उपाधि जितेको नेपाली टोलीलाई विशेष बधाई र स्वागतसमेत व्यक्त गरे।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile