काठमाडौँ – १४ वर्षीय वैभव सूर्यवंशीको कीर्तिमानी शतकको मद्दतले भारतले इंग्ल्यान्डलाई ५५ रनले पराजित गर्दै यु–१९ एकदिवसीय सिरिज ३–१ ले जितेको छ।

भारतका ओपनर सूर्यवंशीले ५२ बलमा शतक बनाउँदै युथ वनडे इतिहासकै सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका हुन्। उनले कुल ७८ बलमा १३ चौका र १० छक्का सहित १४३ रन बनाए।

उनको ब्याटिङले भारतलाई ५० ओभरमा ३६३ रनको विशाल स्कोर बनाउन मद्दत पुर्‍यायो।

मलहोत्रासँग ऐतिहासिक साझेदारी
सूर्यवंशीले नम्बर तीनमा ब्याटिङ गर्न आएका विहान मलहोत्रासँग दोस्रो विकेटका लागि २१९ रनको साझेदारी गरे। मलहोत्राले १२१ बलमा १२९ रन बनाए।

यसअघि युथ वनडे क्रिकेटमा सबैभन्दा छिटो शतक पाकिस्तानका कमरान गुलामले सन् २०१३ मा ५३ बलमा बनाएका थिए। सूर्यवंशीको यो प्रदर्शनले त्यो रेकर्ड तोडेको हो।

फ्लिनटफको शतक पनि बचाउन असफल
जवाफमा इंग्ल्यान्डले पनि कडा चुनौती दिएको थियो। पूर्व इंग्लिस क्रिकेटर एन्ड्रु फ्लिनटफका छोरा रकी फ्लिनटफले ९१ बलमा १०७ रन बनाए।

उनको इनिङ्समा ७ चौका र ४ छक्का समावेश थियो। यसअघि इंग्ल्यान्डका ओपनर बिजे डकिंस र जोसेफ मुअर्सबीच १०४ रनको ओपनिङ साझेदारी भएको थियो।

तर लगातार विकेट गुमाउँदा इंग्ल्यान्ड ४८.२ ओभरमै ३०८ रनमा अलआउट भयो र ५५ रनले पराजित भयो।

यदि इंग्ल्यान्डले यो लक्ष्य पूरा गर्न सकेको भए, युथ एकदिवसीय क्रिकेटको इतिहासमै सबैभन्दा ठूलो रन–चेज हुने थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile