काठमाडौँ —
टि२० त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा स्कटल्यान्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ। घरेलु मैदान क्लाइड्सडेल क्रिकेट क्लबमा सम्पन्न खेलमा स्कटल्यान्डले ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो। जवाफमा नेदरल्याण्ड्स १८.१ ओभरमै १२१ रनमा समेटियो।

यो जितसँगै स्कटल्यान्डले तीन दिनअघि डन्डीमा भएको उच्च स्कोरको वनडे विश्वकप लिग–२ को खेलमा नेदरल्याण्ड्ससँगको हारको बदला पनि लिएको छ।

पहिलो इनिङ्स: मुनसी, म्याकक्रेथ र क्रसको योगदान
टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको स्कटल्यान्डको सुरुआत कमजोर रह्यो। दोस्रो ओभरमै आर्यन दत्तले ओपनर मार्क वाटलाई स्टम्पिङ गराउँदै तथा तेस्रो ओभरको पहिलो बलमा ब्रान्डन म्याकमुलनलाई क्याच गराएर पभेलियन फर्काए। त्यसपछि स्कटल्यान्ड २३/२ को अवस्थामा पुग्यो।

तर, जोर्ज मुनसीले १७ बलमा आक्रामक ३० रन बनाएर टोलीलाई उकासे। त्यसपछि लगातार विकेट गुमाउँदै स्कटल्यान्ड दबाबमा परे पनि फिनले म्याकक्रेथ (४०) र कप्तान म्याथ्यु क्रस (३३) ले छैटौँ विकेटका लागि ५७ रनको साझेदारी गर्दै टिमलाई लयमा ल्याए।

नेदरल्याण्ड्सका लागि आर्यन दत्तले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए।

जवाफी इनिङ्स: स्कटल्यान्डको बलिङ अगाडि नेदरल्याण्ड्स लाचार
नेदरल्याण्ड्सका ओपनर माइकल लेविटले म्याकमुलनको पहिलो ओभरमा १५ रन निकाल्दै आक्रामक सुरुआत गरे। तर, म्याक्स ओ’डाउड र ज्याक लियोन–काचेट सस्तै आउट भएपछि टोली २३/२ मा झर्‍यो। त्यसपछि कप्तान स्कट एडवर्ड्स ४ रनमा रन आउट भए।

लेविटले ३६ रन बनाए पनि उनी नवौं ओभरमा आउट भएसँगै नेदरल्याण्ड्सको जितको सम्भावना कमजोर बन्यो। जार्भिसले तेजा निडामानुरु र रूलोफ भ्यान डर मेर्वेलाई दुई ओभरमै आउट गर्दै स्कटल्यान्डलाई बलियो स्थितिमा पुर्‍याए। अन्ततः नेदरल्याण्ड्स १२१ रनमै समेटियो।

स्कटल्यान्डका लागि सफयान शरिफ, ज्याक जार्भिस र मार्क वाटले समान २–२ विकेट लिए।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *