नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको योगदानको स्मरणमा आगामी असार १४ गते शनिबार पाँचौं वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस हुने भएको छ ।  वीर गणेशमान सिंह फाउन्डेसन अन्तर्गतको वीर गणेशमान सिंह स्पोट्र्स कमिटीको आयोजनामा हुने रोड रेसमा यस बर्ष ४ सय ५० बढीले भाग लिने विर गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य प्रभाषमान सिंहले बताए ।

प्रतियोगिता दरबारमार्गबाट सुरु भई भद्रकाली, रत्नपार्क, जमल, केशर महल, लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार, नक्साल, जय नेपाल हुँदै पुनः दरबारमार्गमै समाप्त हुनेछ । प्रतियोगिता संयोजक तथा वीर गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य प्रभाषमान सिंहले जानकारी गराएअनुसार, १० किलोमिटर रोड रेस महिला र पुरुष दुवैतर्फ खुल्ला प्रतिस्पर्धा हुनेछ ।

वीर गणेशमान सिंह स्पोट्र्स कमिटीका संयोजक सन्जीव तुलाधरले विजेता महिला र पुरुष दुवैले समान. ६० हजार नगद पुरस्कार प्राप्त गर्ने बताए । त्यस्तै, प्रतियोगितामा दोस्रो हुनेले. ३० हजार, तेस्रोले. १५ हजार, चौथोले. १० हजार र पाँचौंले. ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दौडमा १० किलोमिटरको कोर्स रेकर्ड कायम गर्ने खेलाडीलाई थप १० हजार नगद प्रदान गरिने तुलाधरले जानकारी दिए । उनले यो प्रोत्साहनले धावकहरूलाई उत्कृष्ट प्रदर्शन गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।

संयोजक तुलाधरले आगामी दिनमा यस प्रतियोगितालाई अझ बृहत् बनाउँदै अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना रहेको बताए । उनले नेपालमा एथलेटिक्सको विकासमा यस रोड रेसले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।
हाल महिलातर्फ राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेन्ड र पुरुषतर्फ गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेन्डको १० किलोमिटर कोर्स रेकर्ड रहेको छ । यस प्रतियोगिताका लागि करिब  १५ लाख रकम खर्च हुने अनुमान गरिएको छ ।

‘वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस नेपाली खेलकुद क्यालेन्डरको एक महत्वपूर्ण इभेन्ट बन्दै आएको छ । यसले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मात्र दिएको छैन स्वस्थ जीवनशैलीका लागि पनि प्रेरित गरेको छ  ।’ तुलाधरले भने ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *