काठमाडौँ – इंग्लिस प्रिमियर लिगको अन्तिम चरणमा म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएपछि एस्टन भिल्लाको युइएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने सपना अधुरै रहेको छ। खेलको ७३औं मिनेटमा भिल्लाका युवा खेलाडी मोर्गन रोजर्सले गोल गरेजस्तो देखिएको थियो। तर रेफ्री थोमस ब्रामलले युनाइटेडका गोलकिपर अल्टाय बायिन्दिरले बलमा दुई हातले नियन्त्रण राखेको भन्दै फाउलको संकेत गर्दै गोल मान्यता दिएनन्।
भार मा हेर्दा बायिन्दिरले बलमाथि पूरै नियन्त्रण राखेका थिएनन् भन्ने देखिए पनि, रेफ्रीले पहिले नै सिठी बजाइसकेकाले भिडियो सहायक रेफ्रीले हस्तक्षेप गर्न सकेन।
खेलपछि एस्टन भिल्लाका फुटबल अपरेसन प्रमुख डेमियन भिडागानीले रेफ्रीको निर्णयमाथि प्रश्न उठाउँदै भने,
“यो निर्णय मात्र होइन, यस्तो उच्च महत्वको खेलमा अनुभवहीन रेफ्रीको खटाइँ नै अस्वाभाविक छ। हामीले PGMOL (इंग्लिस रेफ्री नियामक निकाय) लाई औपचारिक गुनासो गरिसकेका छौं।”

