प्रथम शहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार हुने भएको छ । शहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापन र प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
नकआउट आधारमा हुने प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल आर्मी र नेपाल एपीएफ क्लब गरी ७ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दीपक अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार नगदबाट पुरस्कृत गरिने छ । खेलाडीहरुको १ लाख २५ हजार बराबरको खेल दुर्घटना विमा गरिएको छ । सहभागी टिमलाई होटल र एकतर्फी यातायत खर्च उपलब्ध गराइने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १९ लाख रुपैयाँ खर्च हुने बताइएको छ । त्यसमा ११ लाख आयोजक एकेडेमीले उपलब्ध गराउने छ भने बाँकी रकम रग्बी संघले व्यवस्थापन गर्ने छ । एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
एकेडेमीले रग्बीपछि ब्याडमिन्टन, तेक्वान्दो र फुटसल पनि आयोजना गर्ने तयारी गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

