ला लिगाको अन्तिम चरणको खेलमा भिल्लारियलले च्याम्पियन बार्सिलोनालाई ३–२ ले हराउँदै सानदार जित हात पारेको छ। यो जितसँगै भिल्लारियलले युरोपियन प्रतियोगिताका लागि स्थान सुरक्षित गरेको छ भने बार्सिलोनाको जितको लयमा ब्रेक लागेको छ।
खेलको सुरुवातमै भिल्लारियलले अग्रता बनाएको थियो। चौथो मिनेटमा आयोजे पेरेजले निकोलस पेपेको क्रसमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि ३८औं मिनेटमा बार्सिलोनाका युवा खेलाडी लामिन यामालले बराबरी गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए।
दोस्रो हाफमा भिल्लारियलले उत्कृष्ट पुनरागमन गर्यो। ५०औं मिनेटमा सान्ती कोमेसान्याले येरिमी पिनोको पासमा गोल गर्दै खेल २–२ मा ल्याए। त्यसपछि ८०औं मिनेटमा टाजोन बुकेननले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।
बार्सिलोनाले केही दिनअघि एस्पान्योललाई हराउँदै २८औं पटक ला लिगा उपाधि जितेको थियो।

