काठमाडौँ- जर्मन प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा एफसी बार्सिलोनाले २०२४/२५ सिजनको ला लिगा उपाधि जीतेको छ। यो उपाधिसँगै बार्सिलोनाले कुल २८औं पटक ला लिगा च्याम्पियन बन्न सफल भएको हो।
हान्सी फ्लिकले मे २९, २०२४ मा दुई वर्षे सम्झौतासहित बार्सिलोनाको मुख्य प्रशिक्षकको रूपमा आएका थिए।
यो सिजनभरि बार्सिलोनाले कुल १६९ गोल गर्दा ९५ गोल ला लिगामा गरेको छ।
बार्सिलोनाले यस सिजन ला लिगासँगै कोपा डेल रे र स्पेनिस सुपर कप समेत जित्दै घरेलु ‘त्रिपल उपाधि’ जितेको हो। यद्यपि, च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानसँग समग्र ७–६ को स्कोरमा पराजित हुँदै बाहिरिएको थियो।
एफसी बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले यो सिजनलाई “ऐतिहासिक” भन्दै प्रशिक्षक फ्लिक र सम्पूर्ण टोलीको प्रशंसा गरेका छन्। यस सिजन बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध सबै प्रतियोगितामा जित हात पार्दै ‘एल क्लासिको’ मा शतप्रतिशत सफलता प्राप्त गरेको थियो।

