ललितपुर – दक्षिणकाली नगरपालिकालाई हराउँदै गाेदावरी नगरपालिका जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा बुधबार सम्पन्न दाेस्राे सेमिफाइनलको खेलमा दक्षिणकालीलाई पेनाल्टी सुट आउटमा ४-३ गाेल अन्तरले हराउँदै गाेदावरीले काठमाडौं महानगरपालिकासँगकाे भेट पक्का गरेको हाे । निर्धारित ९० मिनेटसम्म दुबै तर्फबाट २-२ गाेलकाे बराबरी भएपछि खेलकाे निर्णय पेनाल्टीबाट गरिएको हाे ।
सुरुवाती अग्रता दक्षिणकालिका अमित तामाङले खेलकाे १५ औं मिनेटमा गरे । खेलकाे ४९ औं मिनेटमा पासाङ तामाङले गाेदावरीका लागि बराबरी गाेल गरे । फेरि खेलकाे ८३ अाैं मिनेटमा दक्षिणकालिका लागि नवीन कर्माचार्यले गाेल गर्दै अग्रता दाेब्बर पारे । खेलकाे अन्तिम समयमा अनिल बाेम्जनले गाेल गर्दै बराबरी गाेल गरे ।
यसअघि कीर्तिपुर नगरपालिकालाई ३-० ले हराउँदै काठमाडौंले दोस्रो पटक उपाधी जित्ने अवसर बनाएको छ । पहिलो संस्करणमा चन्द्रागिरीलाई हराउँदै काठमाडौंले उपाधी जितेको थियो । आगामी जेठ २ गते हुने फाइनलमा काठमाडौंले गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ। गोदावरी मेयर कपमा काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये काठमाडौं जिल्लाबाट ६ , ललितपुरबाट ५ र भक्तपुरबाट २ पालिकाको सहभागिता रहेको छ ।
काठमाडौं जिल्लाका काठमाडौ महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका,कागेश्वरी मनहरा नगरपालिका र तारकेश्वर नगरपालिकाले खेलेका छन् । यसैगरी ललितपुर जिल्लाका आयोजक गोदावरी सहित ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका , बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाले सहभागिता जनाएका छन् ।
यसैगरी भक्तपुर जिल्लाबाट चाँगुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले सहभागीता जनाएका छन् । अघिल्लो पटक सहभागी भएका काठमाडौंका नागार्जुन नगरपालिका , टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका यसपटक सहभागी छैनन् भने चाँगुनारायण र कागेश्वरी मनोहराले पहिलो पल्ट सहभागिता जनाएका छन् । अघिल्लो संस्करणमा पनि सहभागी नभएका शंकरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र महांकाल गाउँपालिकाले यसपटक पनि भाग लिएनन् । यस्तै भक्तपुरका भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका पनि सहभागी भएनन् ।
प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिनेछ । अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ प्रदान गरिनेछ ।
नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले उपत्यकामा नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उदेश्यले उपत्यकाब्यापी अन्तर नगरपालिका फुटबलको आयोजना गरिएको बताए । “ गोदावरीको वडा हुँदै नगर तथा जिल्लाका साथै प्रदेश एवं राष्ट्र मात्रै नभएर अन्तरर्राष्ट्रिय जगतमा समेत नेपाललाई चिनाउने युवा खेलाडी उत्पादन गर्न यो प्रतियोगिता आयोजना गरेका हौँ ,” उनले भने , अघिल्लो संस्करण पनि हामीले सफलता पूर्वक सम्पन्न गरिसकेका छौँ ।
मेयर महर्जनले प्रतियोगिताले नवनिर्मित गोदावरीको खेल मैदानलाई अझ विस्तार र स्तरउन्नती गर्न थप बल पुग्ने विश्वास ब्यक्त गरे । उनले भने, “गोदावरीमा खेल पर्यटनको पनि संभावना छ र त्यसको विकासका निम्ती यो प्रतियोगिता कोशेढुङ्गा हुनसक्छ । ” मेयर मर्हजनले वन कार्यालयबाट ३ दशमलब ५ हेक्टरको बनको जग्गा रंगशालाको भोगाधिकारका लागी प्राप्त भएको बताए ।
उनका अनुसार नगरपालिकाको गौरबको योजना अन्र्तगत रहेको १५ हजार क्षमताको मिनी रंगशालाका लागि २ अरब खर्च लाग्ने अनुमान गरिएको छ । यसलाई प्रदेश र सघको बहुवर्षे योजनामा समावेश गरि निर्माण कार्य अघि बढ्ने बताए ।

