काठमाडौँ — नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको आयोजनामा अर्को महिना कुकिवन च्याम्पियनसिप हुने भएको छ ।
नेपाल तेक्वान्दो संघका अनुसार यस प्रतियोगिता वैशाख ४ देखि ६ सम्म हुनेछ ।
नेपालमा कुकिवन च्याम्पियनसिप हुन लागेको यो पहिलो पटक हो र यसको ब्रेकिङमा पाँच विधा समावेश गरिनेछ । त्यसमा साइड किक, फिस्ट, नाइफ, हाइजम्प र अलराउन्ड रहेका छन् ।
ब्रेकिङमा पाँच उमेर समूह गरेर २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै अथोराइज पुम्पेतर्फ पाँच उमेर समूहमा ३० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
तेक्वान्दो एरोबिकमा भने थप ६ स्वर्णका लागि पनि खेल हुनेछ । प्रतियोगिताको कुल बजेट २१ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

