काठमाडौं। जावलाखेल ह्विलचियर स्पोट्र्स क्लब (जिडब्युएससी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले मंगलबार अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न फाइनलमा महिलातर्फ जावलाखेल र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको हो। उपाधिसँगै दुवै टोलीले समान ५० हजार रुपैयाँ हात पारे।

महिलातर्फ जावलाखेलले ह्विलचियर स्पोट्र्स एसोसिएसन (डब्ल्युएसए)लाई २४–२३ को स्कोरले पराजित गरेको हो। जावलाखेललाई च्याम्पियन बनाउन रजनी राईले सर्वाधिक १४ अंक जोडिन्। उनी नै सर्वाधिक स्कोरकर्ता घोषित भइन् र तीन हजार रुपैयाँ हात पारिन्।

जावलाखेलले सेमिफाइनलमा इस्पाइनल कट इन्जरी नेट्वर्क नेपाल (एससिआइएनएन) लाई १७–६ को स्कोरमा हराउँदै फाइनल यात्रा तय गरेको थियो। यता, डब्ल्युएसएले राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान)लाई १२–२ को स्कोरमा पराजित गरेको थियो। यस्तै, महिलातर्फ निडवानलाई हराउँदै एससिआइएनएन तेस्रो भयो।

पुरुषतर्फ विभागीय ‘डर्बी’ मा एपिएफलाई आर्मीले ४३–४१ को स्कोरमा हराउँदै आर्मी च्याम्पियन बन्यो। निकै रोमाञ्चक बनेको फाइनलमा निर्धारित खेल ३९–३९ को बराबरी सकिएको थियो। त्यसपछि विजेताको छिनोफानो गर्न अतिरिक्त तीन मिनेटको समय थप गरिएको हो। तर, अतिरिक्त समयमा आर्मीले चार र एपिएफले दुई स्कोर जोड्यो। योसहित आर्मी समग्रमा ४३ अंकसहित विजयी भयो। उपाधि दिलाउन रमेश खत्रीले सर्वाधिक १९ स्कोर जोडे। उनले तीन हजार रुपैयाँ प्राप्त गरे।
आर्मीले सेमिफाइनलमा बिआइएलाई ४०–१३ र एपिएफले आयोजक टोली एनएससिआइएसएलाई ४०–१० को फराकिलो स्कोरमा हराउँदै फाइनल प्रवेश गरेको थियो।

यस्तै, आयोजक टोलीलाई १०–६ को स्कोरले हराउँदै बिआइए तेस्रो भयो। उपविजेता दुवै टोलीले २५ र तेस्रो हुने दुवै टोलीले १० हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फ जावलाखेलको तुलशा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। पुरुषतर्फ भने कप्तान राम तामाङ सर्वोत्कृष्ट भए। दुवै खेलाडीले समान तीन हजार रुपैयाँ प्राप्त गरे।

विजेता टोलीलाई राखेपका उपाध्यक्ष धुर्व आचार्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, एनएससिआइएसएका अध्यक्ष देवी आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए । दुई दिन चलेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ सातसहित कुल १३ टोलीको सहभागिता थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile