काठमाडौं, माघ १२ गते । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि शनिबार जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा हाफ म्याराथनको पुरुषमा राजन र महिलामा सन्तोषी पहिलो भएका हुन् ।

दुवैको तेश्रो यो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि विजेता हुन् । सन्तोषीले नखेलेको दोश्रो संस्करणमा फुलमति राना पहिलो भएकी थिइन् । पुरुषमा पहिलो संस्करणमा तीर्थ पुन तथा दोश्रो र तेश्रो संस्करणमा दीपक अधिकारी पहिलो भएका थिए ।

निर्धारित २१ किलोमिटर दूरी पूरा गर्न राजनले १ घण्टा ०६ मिनेट १० सेकेन्ड समय खर्चे । राजन भन्दा ५ सेकेन्डले पछि आर्मीकै खडकबहादुर खड्का १ घण्टा ०६ मिनेट १५ सेकेन्ड समयसाथ दोश्रो भए । १ घण्टा ०६ मिनेट २० सेकेन्ड समयसाथ वाहोमका जुलियस मुरलुकी तेश्रो बने । आर्मीका मुकेशबहदाुर पाल र सुशीलकुमार शाही क्रमशः चौथो र पाँचौं स्थानमा रहे ।

दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता ओलम्पियन सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा तय गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (१ घण्टा २२ मिनेट ५१ सेकेन्ड) दोश्रो तथा एपीएफकी पुष्पा भण्डारी (१ घण्टा २४ मिनेट २१ सेकेन्ड) तेश्रो भए । आर्मीकी निर्मला केसीले चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौं स्थानमा दौड टुंगाए । पुरुष÷महिला दुवैमा शीर्ष ५ स्थानमा रहनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका सञ्जय श्रेष्ठ पहिलो भए । उनले ३० मिनेट १०.०७ सेकेन्डमा दौड सकाए । दोलखाका मिङमार शेर्पा (३१ मिनेट ०८.४० सेकेन्ड) दोश्रो तथा आर्मीका दीपक अधिकारी (३१ मिनेट १७.२९ सेकेन्ड) तेश्रो भए । आर्मीका रामजी बस्नेत चौथो र एपीएफका सन्तोषविक्रम विष्ट पाँचौं भए । पहिलोले ५० हजार, दोश्रोले ४० हजार, तेश्रोले ३० हजार, चौथोले २० हजार र पाँचौं १० हजार नगद पुरस्कार जिते ।

महिला ५ किलोमिटर दौडमा एपीएफकी फुलमति राना पहिलो हुँदा २३ मिनेट १३ सेकेन्डको समय निकालिन् । एपीएफका आशा रावत दोश्रो तथा दिपा परियार तेश्रो भए । दौड पूरा गर्न आशाले २३ मिनेट ३७ सेकेन्ड तथा दिपाले २३ मिनेट ४५ सेकेन्ड समय लगाए । जुम्लाकी राज्यलक्ष्मी रावल चौथो र आर्मीकी रेखा लिम्बूले पाँचौं स्थान हासिल गरे । विद्यालयतर्फ (कक्षा १२ सम्म) ५ किलोमिटर पुरुषमा लोकेन्द्र बोहरा पहिलो भए । उनले २१ मिनेट २०.८६ सेकेन्ड खर्चे ।

२१ मिनेट २३.२७ सेकेन्डसाथ कृष्णबहादुर परियार दोश्रो तथा २१ मिनेट २५.१४ सेकेन्डसाथ हस्त सुनार तेश्रो बने । सम्राट कोयाहाङ लिम्बू चौथो तथा पुकारजंग बस्नेत पाँचौं भए । व्हीलचेयरको पुरुषमा रमेश खत्री, प्रेमबहादुर विक, दिपक आले मगर, विष्णुपुकार श्रेष्ठ र अर्जुन दोङ क्रमशः शीर्ष ५ स्थानमा रहे । सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल पहिलो, यानी झाँक्री मगर दोश्रो, रजनी राई तेश्रो, हिउँकला साउद चौथो र मिना मगर पाँचौं भए । चारै स्पर्धामा शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) महिला ३ किलोमिटरमा अस्मिता भुजेल १७ मिनेट ३०.६७ सेकेन्ड टाइमिङमा पहिलो भइन् । १७ मिनेट ५१.५५ सेकेन्ड समयमा नारायणी भण्डारी दोश्रो तथा १८ मिनेट ००.०५ सेकेन्ड समयमा भगवती खड्का तेश्रो भए । पूजा पछाईं चौथो र पुष्पा शर्मा पाँचौं भए । पहिलो हुनेले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार पाए ।

विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, राइट टु प्रोटिन हाफ म्याराथनका संयोजक डा. सितलकाजी श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को मुख्य प्रायोजन, पशु सेवा विभाग र नेपाल दाना उद्योग संघको सहयोग तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा करिब ८ हजारको सहभागिता रहेको संयोजक श्रेष्ठले जनाएका छन् । सबै दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिएको थियो । उक्त ८ स्पर्धा बाहेक बालवालिकाको रन फर फनमा पनि प्रतिस्पर्धा भएको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile