काठमाडौँ- डिफेन्डिङ च्याम्पियन निरज तामाङले ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४÷२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा उक्लिएका छन।

५४ होलको खेल सकिंदा निरजले समग्रमा १०–अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन।
एमेच्योर सदभावले पनि ४–अन्डर ६४ स्कोर गर्दा समग्रमा ९–अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए। दोस्रो दिनका लिडर विष्णु प्रसाद शर्माले १–ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६–अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा तल झरे।

समग्रमा ५–अन्डर १९९ सहित दिनेश प्रजापति चौथो स्थानमा यथावत रहे। उनले आज १–अन्डर ६७ को स्कोर निकाले। एमेच्योर गल्फर राहुल विके समग्रमा २–अन्डर २०२ सहित पाँचौं स्थानमा रहे। उनले पनि आज १–अन्डर ६७ मा खेल सकाए।
इभन–पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १–अन्डर २०३ सहित छौटौं स्थानमा छन। नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन–पार २०४ सहित सातौं स्थानमा उक्लिए। उनले तेस्रो दिनको खेल १–अन्डर ६७ मा सकाए। समग्रमा २–ओभर २०६ बनाएका वसन्त राज गुरूङ, रामे मगर र प्रदीप कुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहे। वसन्त र रामेले ३–अन्डर ६५ र प्रदीपले इभन–पार ६८ को स्कोर दर्ज गरे।

रोयल नेपाल गल्फ क्लबमा निरज शीर्षस्थानमा उक्लने क्रममा सुरूवात राम्रो गरे। दोस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। नवौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३–अन्डर ३१ मा पुरा गरे। यसपछि १०औं र ११औं होलमा बर्डी प्रहार गरे भने १२औं होलमा बोगी खेल्दै ब्याक नाइनमा १–अन्डर ३३ को स्कोर निकाले।

सदभावले बोगी रहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे। फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन ३–अन्डर ३१ मा सकाए। उनले चौथो, दशौं, तेर्हौ र सत्रौं होलमा बर्डीको सफलता प्राप्त गरे।

विष्णुले फ्रन्ट नाइन १–अन्डर ३३ खेले। उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक–एक सट खेर फाले। ब्याक नाइनमा भने उनले लय गुमाए। १०औं होलमा बर्डी प्रहार गरेपनि १५औं, १६औं र १७औं होलमा बोगी खेप्दै २–ओभर ३६ मा सकाए।

कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागि खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन। विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन। साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन। प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile