काठमाडौँ- प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ ।
नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति,काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो । निक्कै रोमाञ्चक बनेको खेलमा धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे पनि उपाधि दिलाउन सकेनन् ।
प्रथम कार्कीले मेचीनगरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, देवासिसले धाइजनलाई खेलमा फर्काए । त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै अग्रता ३–१ मा पुर्याए । तर, देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थितिमा ल्याए । लगत्तै प्रथमले अर्को गोल गर्दै मेचीनगरलाई ४–२ को अग्रता दिलाए । खेलको अन्त्यतिर देवासिसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, उक्त ह्याट्रिकले धाइजन खेलमा फर्किन सकेन । यद्यपि, उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए ।
प्रतियोगितामा मेचीनगर र धाइजनसँगै शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले सहभागिता जनाएका थिए ।
मेचीनगरले पहिलो सेमिफाइनलमा बाहुनडाँगीलाई ५–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो । यस्तै, धाइजनले भने दोस्रो सेमिफाइनलमा ज्यामिरेगढीलाई ३–० ले पाखा लगायो । ज्यामिरेगढीले ‘बाइ’ पाउँदै सिधैं अन्तिम चारमा स्थान बनाएको थियो । तर, उक्त मौकालाई ज्यामिरेगढीले सदुपयोग गर्न सकेन र यहीबाट आफ्नो यात्रा समाप्त गर्यो ।
उपाधिसँगै विजेता मेचीनगरले २१ हजार रुपैयाँ प्राप्त गर्यो । यस्तै, उपविजेता धाइजनले ११ हजार रुपैयाँमा चित्त बुझायो । उपाधिसँगै मेचीनगरले व्यक्तिगत पुरस्कारमा पनि कब्जा जमायो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर मेचीनगरका जयश खनाल घोषित भए । प्लेयर अफ द टुर्नामेन्ट रोहन बूढाथोकी र सर्वाधिक गोलकर्ता अंकित दुलाल रहे । उनीहरू दुवै मेचीनगरका हुन् । मेचीनगरलाई फाइनलमा पुर्याउन अंकितले सर्वाधिक आठ गोल गरेका थिए ।
नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले निर्णायक समितिमा रहेका नेपाली टोलीका पूर्वप्रशिक्षक तथा पूर्वकप्तान हरि खड्का र अमनप्रताप अधिकारीलगायतले बनाएको उत्कृष्ट खेलाडीको सूचीबाट एक टोली बनाउने जानकारी दिए ।
‘निर्णायक समितिबाट एक लिस्ट पाएको छु । त्यो लिस्टबाट झापा १ को एक टिम बनाउने छौं । त्यो टोलीले नेपालभर हुने प्रतियोगितामा झापा १ को प्रतिनिधित्व गर्नेछ,’ उनले भने ।

