काठमाडौँ- नेपालले आईएसएफ जिम्नासाइड समर गेम्समा ३ स्वर्ण, १ रजत र ३ कांस्यसहित ७ पदक जितेको छ ।
नेपालले ५ खेलमा सहभागिता जनाएकोमा बक्सिङ र तेक्वान्दोमा पदक जित्न सफल भयो । यि २ खेलसहित नेपालले टेबलटेनिस, ब्याडमिन्टन र पुरुष थ्री बाइ थ्री बास्केटबलमा भाग लिएको थियो । नेपालले बक्सिङमा समान २–२ स्वर्ण र कांस्य तथा तेक्वान्दोमा समान १–१ स्वर्ण, रजत र कांस्य हात पा¥यो ।

बक्सिङको पुरुष ८० केजीमुनि नोर्बु थेन्डुप लामा र महिला ५४ केजीमुनि स्वस्तिका तिरुवाले स्वर्ण जिते । दुवैको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो । बक्सिङकै पुरुष ४६ केजीमुनि रोहित जनाला र ८० केजीमुनि सूर्यान वैद्यले कांस्य हात पारे ।
बहराइनको मानामामा भएको आईएसएफ जिम्नासाइडको तेक्वान्दोमा उज्ज्वल वाग्लेले दोहोरो पदक जिते । नैकापस्थित ब्राइट फ्युचर माविमा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमुनि स्वर्ण र पुरुष एकल पुम्सेमा रजत तथा निविता केसीले महिला एकल पुम्सेमा कांस्य प्राप्त गरे ।

प्रत्येक २ वर्षको अन्तरालमा हुने यु–१८ उमेरसमूहको आईएसएफ जिम्नासाइडको २० औं संस्करणमा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी थिए । बक्सिङ र तेक्वान्दोमा समान ५–५, टेबलटेनिसमा ६, पुरुष थ्री बाइ थ्रीको बास्केटबलमा १५ (४ टिम) तथा ब्याडमिन्टनमा १ खेलाडीले सहभागिता जनाएका थिए । १९७४ मा जर्मनीदेखि सुरु भएको आईएसएफ जिम्नासाइडमा नेपालले फ्रान्सको नोरमन्डीमा भएको १९ औं संस्करणमा पहिलोपटक सहभागिता जनाएको थियो । उक्त संस्करणमा पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबल गरी ४ खेलमा भाग लिएको नेपालले कुनै पदक जितेको थिएन ।

बहराइन जिम्नासाइडमा ६९ राष्ट्रका २ हजार १ सय ७२ पुरुष तथा १ हजार ५ सय ४२ महिला गरी कुल ३ हजार ७ सय १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । आयोजक राष्ट्र बहराइनले सबै भन्दा बढी ३ सय ६१ खेलाडी सहभागी गराएको थियो । लक्जम्वर्ग, मोन्टेनेग्रो, ताजकिस्तान र टोगोबाट सबै भन्दा कम समान २–२ खेलाडी सहभागी थिए । खेलाडीसहित प्रशिक्षक, निर्णायक, टोली प्रमुख, अफिसियललगायत गरी ५ हजार ४ सय ५३ जना आईएसएफ जिम्नासाइडका लागि बहराइनमा भेला भएका थिए । अक्टोबर २३ देखि सुरु भइ अक्टोबर ३० तारिखसम्म चलेको आईएसएफ जिम्नासाइडमा एथलेटिक्स, ब्याडमिन्टन, जुडो र पौडीमा पाराको पनि प्रतिस्पर्धा भएको थियो । पारामा नेपालले भाग लिएन ।

अर्को संस्करण आयोजनाका लागि साउदी अरयिबा, अजरवैजान र दुबईले प्रस्ताव गरेको आईएसएफका कार्यकारी समितिका सदस्य समेत रहेका नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् । विद्यालय तहदेखिनै तेक्वान्दोलाई विकास गर्ने उद्देश्यसहित राजकुमार कार्कीको समन्वयमा विश्व तेक्वान्दो      (डब्लुटी) संग सम्झौता विगतमै भइसकेको नेपाल विद्यालय खेलकुद महासंघका सचिव सोविनराज रेग्मीले जानकारी गराए । कार्की आईएसएफअन्र्तगत तेक्वान्दो प्राविधिक कमिटीका अध्यक्ष पनि हुन् । बहराइन जिम्नासाइडको तेक्वान्दोलाई डब्लुटीले जि वान ¥याङकिङ प्रतियोगिताको मान्यता दिएको कार्कीले बताए ।


About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *