काठमाडौँ- बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको उपाधि भारतको लाइफ केयर क्रिकेट क्लबले जितेको छ।

रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ रंगशालामा सम्पन्न फाइनलमा लाइफ केयर क्रिकेट क्लबले नेपालको नेक्सस रुपन्देही एघारलाई २१ रनले पराजित गर्यो। उपाधि जित्न १६५ रनको लक्ष्य पाएको नेक्सस रुपन्देहीले पुरै २० ओभर ब्याटिंग गरेता पनि सबै विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

नेक्सस रुपन्देहीको ब्याटिंगमा कप्तान कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाए। यस्तै बसिर अहमदले २५, शंकर रानाले २४, सुमित महर्जनले २० तथा मृनाल गुरुङले १५ रन बनाए। लाइफ केयरको बलिंगमा सक्षम शर्माले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा ११ रन खर्चिए। जस्मित नैन र कप्तान योगेश कुमारले समान २ विकेट लिंदा रोहित दांगवाल, शुभम लाम्बा, क्षितिज त्रिपाठीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको लाइफ केयर क्रिकेट क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनायो। लाइफ केयरको लागि शुभम लाम्बाले सर्वाधिक ३९ रन बनाए। यस्तै दिपक पुनियाले ३८, एकांश दोबलले २५, दिपांशु फोरेले २४, राजेश शर्माले १७ तथा बिपुल कम्बोजले अविजित १० रन बनाए।

नेक्सस रुपन्देहीको बलिंगमा दिपेश कंडेलले २ विकेट लिंदा शाहब आलम, बसिर अहमद, दिनेश अधिकारी र कृष्ण कार्कीले १/१ विकेट लिए। उपाधि सहित लाइफ केयर क्रिकेट क्लबले ५ लाख रुपैयाँ हात पार्यो। उपविजेता नेक्सस रुपन्देहीले ३ लाख रुपैयाँ पायो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी लाइफ केयर क्रिकेट क्लबका दिपक पुनिया घोषित भए जसले ३५ हजार रुपैयाँ पुरस्कार पाए। यस्तै प्रतियोगिताकै उत्कृस्ट बलर नेक्सस रुपन्देही एघारका शाहब आलम घोषित भए भने उत्कृस्ट ब्याटर लाइफ केयरका दिपक पुनिया घोषित भए। उत्कृस्ट बलर र ब्याटरले जनही २० हजार रुपैयाँ पाए।

फाइनल खेलको प्लेयर अफ द म्याच शुभम लाम्बा घोषित भए। विजेता खेलाडीहरुलाई नेपाल सरकारका पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खांड, संबिधान सभा सदस्य इस्तियाक अहमद खान, लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व प्रदेश गृहमन्त्री माननीय सन्तोष पाण्डे तथा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल, लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बानियाँले पुरस्कार वितरण गर्नु भयो।

८ दिन चलेको प्रतियोगितामा ५ वटा दक्षिण एसियाली टेस्ट राष्ट्रका क्लब टिमहरु सहभागी रहेका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile