काठमाडौँ- पोखरामा तेस्रो पटक अन्तराष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ ।
हिमालयन टुरिजम फोरमले कात्तिक २२ देखि २५ सम्म प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा नेपाल र चीनका खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगिताका प्रेस संयोजक प्रतीकराज पहारीले दौड, साइक्लिङ र बोटिङ गरी ५० किलोमिटरको दुरी पार गर्नुपर्ने जनाए ।
९० खेलाडीमध्ये १० चिनियाँ र २० नेपाली टोली हुनेछ । खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइक्लिङ र रोइङ चरण पूरा गर्नुपर्ने हुन्छ । दौडका क्रममा खेलाडीले २२५८ मिटर उचाइ पार गर्नेछन् । विदेशी नागरिकका लागि दर्ता शुल्क प्रति टिम २२ हजार ९२० रुपैयाँ (१२०० आरएमबी) रहेको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । च्यालेन्ज इन्डिभिजुयलमा करिब २ सय खेलाडी सहभागी हुने छन् । जसमा ८० चिनियाँ र १२० नेपाली रहनेछन् । ५० किलोमिटरको ट्रेलमा २ हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन् ।
टिम समूहको विजेताले ४ लाख ५८ हजार ४ सय रुपैयाँ अर्थात् २४ हजार आरएमबी पुरस्कार पाउनेछ । दोस्रो टिमले ३ लाख ४३ हजार ८ सय र तेस्रो हुने टिमले २ लाख २९ हजार २ सय रुपैयाँ पुरस्कार पाउनेछन् । चौथोले १ लाख ५२ हजार ८ सय र पाँचौंले ९५ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको छ ।