काठमाडौँ- सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको खेलकुद विकासका लागि आफ्नो साथ र शुभकामना सधैं रहने बताउनुभएको छ ।  

राष्ट्रपति भवन शीतल निवासमा शनिबार एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) का पदाधिकारी र एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका विजेताहरूको भेटमा राष्ट्रपति पौडेलले उक्त कुरा बताउनुभएको हो । उहाँले एआईपीएसका पदाधिकारी र अवार्ड विजेता बधाई तथा शुभकामना पनि दिनुभयो ।
राष्ट्रपतिले एसियाली खेल पत्रकारको संगठन एआईपीएस एसियाको २५ औं क्रग्रेस आयोजनाका लागि नेपाली भूमि छानेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

एआईपीएस एसियाको कंग्रेसका लागि २८ देशका ८० प्रतिनिधि नेपालमा आएका थिए ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘एआईपीएस एसियाको क्रग्रेस सफलतापूर्वक सम्पन्न गरी एसियाली खेलकुद पत्रकारको हकहितमा महत्वपूर्ण निर्णयसहित काठमाडौं घोषणापत्र जारी गर्नुभएकोमा तपाईहरू सबै बधाईका पात्र हुनुहुन्छ ।’
उहाँले थप्नुभयो, ‘नेपालको पहिचान सगरमाथाको देश र बुद्ध जन्मस्थलको रुपमा विश्वव्यापी छ । त्यतिमात्र होइन, नेपाल खेल र खेलाडीको देश पनि हो । भर्खरै तेक्वान्दोकी पलेशा गोवर्धनले पारा ओलम्पिकमा कांस्य पदक जितेर नेपालको उँचो पार्नुभएको छ ।’

उनले साहसिक खेल, हाइअल्टिच्युड खेल, अल्ट्रा दौडमा नेपालको सम्भावना उच्च रहेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले सर्वोच्च शिखरको बेसक्याम्पमा हुने एभरेस्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाएको स्मरण गराउनुभयो ।
उहाँले नेपाल यस्ता साहसिक खेलको प्रचुर सम्भावना भएको देश हो भनेर विश्व खेलकुदमा सन्देश प्रसारित गराइदिन एसियाली खेलकुद पत्रकारलाई आग्रह गर्नुभयो ।

राष्ट्रपतिले एआईपीएस एसियाको कं्रग्रेसको जस्तो महत्वपूर्ण कार्यक्रम आयोजना लागि आँट गर्ने नेपाल खेलकुद पत्रकार मञ्चलाई दिन बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० का विजेतालाई बधाई ज्ञापन गर्नुहुँदै राष्ट्रपति पौडेलले दुई दशकदेखि राष्ट्रका उत्कृष्ट खेलाडीलाई सम्मान गरेर मञ्चले राम्रो परम्परा स्थापित गरेकामा धन्यवाद भन्नुभयो ।

सोही अवसरमा राष्ट्रपति पौडेललाई एआईपीएस एसियाको तर्फबाट अध्यक्ष ही डोङ जोङले मायाको चिनो प्रदान गर्नुभयो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले एआईपीएस एसिया, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र सहभागीका बारेमा जानकारी गराउनुभएको थियो । 

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile