काठमाडौँ- नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज शुक्रबार हुँदैछ।
२१औं संस्करणको अवार्ड कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा दिउँसो ४ बजेबाट सुरु हुनेछ।
२०५२ सालमा स्थापना भएको एनएसजेएफले २०६० सालदेखि उक्त अवार्डलाई निरन्तर रूपमा दिँदै आएको छ।
नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उदेश्यका साथ यसको सुरुआत भएको हो।
अवार्डमा वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा विभिन्न १० विधामा उत्कृष्ट खेलाडी, खेलकर्मी तथा पत्रकारलाई पुरस्कृत गरिनेछ। अवार्डमा उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधा समावेश छन्। यसैगरी पिपल्स च्वाइस अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, टिम अफ दी इयर, पारा एथलिट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा छन्।
पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ।

