काठमाडौं- काठमाडौं खेल मन्डल (एनआरटी) ले यहि भदौ ११ देखि १३ गते सम्म केकेएम-एनआरटी अन्तर विद्यालय राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
क्लबको ९० औं वार्षिक उत्सवको अवसरमा काठमाडौं खेल मण्डल एनआरटीले विगतमा खेल्दै आएका चारवटा खेलहरु फुटबल, क्रिकेट, विलियार्ड र टेबल टेनिस खेलको आयोजना गर्न लागेको आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो।
त्यस अन्तर्गत विलियार्ड खेल सम्पन्न भइसकेको छ भने यसैवर्ष भित्र क्रिकेट र फुटबल खेलको पनि आयोजना गर्न लागेको क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताए।
प्रतियोगितामा ४३ विधालयका १९२ खेलाडीले ब्वाइज/गर्ल्स टिम, यु-१६ ब्वाइज/गर्ल्स एकल तथा यु-१२ ब्वाइज/गर्ल्स गरी विभिन्न ६ इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा १ लाख ६० हजार नगद पुरस्कार राखिएको छ। यु-१६ र १२ का स्वर्ण, रजत र काश्य (२ जना) विजेताले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोग गर्ने प्रतियोगिताका संयोजक सुनिलभक्त जोशीले बताए।
प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।

