पेरिस, साउन २७ गते । नेपालकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक– २०२४ अन्तर्गत एथलेटिक्सको महिला म्याराथन पूरा गर्ने क्रममा आइतबार ७९ औं स्थानमा भएर पुरा गरेकि छिन्।

विभिन्न राष्ट्रका ९१ खेलाडी सहभागी म्याराथनमा ८० जनाले मात्र निर्धारित दूरी ४२.१९५ किलोमिटर पूरा गरे । ११ प्रतिस्पर्धीले दौड नै पूरा गर्न सकेनन् ।

सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन् । सन्तोषीको ब्याक्तिगत उत्कृष्ट टाइमिङ भने २ घण्टा ४६ मिनेट २३ सेकेन्ड हो, जुन महिला म्याराथनमा नेपालको कीर्तिमानी समय पनि हो । सन्तोषीले उक्त कीर्तिमान बंगलादेशको ढाकामा गत जनवरीमा भएको शेख मुजिब रहमान बंगबन्धु म्याराथन (दक्षिण एसियाली स्तरीय) मा बनाएकी थिइन् । बंगबन्धु म्याराथन सन्तोषीको ‘डुब्यु’ अन्तर्राष्ट्रिय म्याराथन हो ।

त्यो म्याराथनमा सन्तोषीले स्वर्ण जितेकी थिइन् । सुरुमा ५ हजार र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने सन्तोषी हाफ म्याराथन हुँदै फुल म्याराथना दौड्न थालेकी हुन् । पेरिस ओलम्पिकको म्याराथन सन्तोषीको दोश्रो अन्तर्राष्ट्रिय म्याराथन हो । ३१ वर्षीया सन्तोषी नेपालमै सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को १० हजार मिटर दौडकी स्वर्ण विजता हुन् । उक्त प्रतियोगिता सन्तोषीको ‘डुब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । सन्तोषीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि सहभागिता जनाएकी थिइन् ।

सन्तोषी पछि दौड पूरा गर्नेमा भुटानकी किन्जाङ ल्हामु रहिन् । किन्जाङलाई दौड पूरा गर्न ३ घण्टा ५२ मिनेट ५९ सेकेन्ड समय लाग्यो ।

नेडरल्यान्डकी सिफान हसनले ओलम्पिक रेकर्डसहित स्वर्ण जितिन् । सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा सिफानले २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा दूरी तय गर्दै इथोपियाकी टिकी गेलानाको नाममा रहेको २ घण्टा २३ मिनेट ०७ सकेन्डको ओलम्पिक रेकर्ड तोडिन् । इथोपियाकी टिग्स्ट असेफा दोश्रो तथा केन्याकी हेलेन ओबिरी तेश्रो  बने । म्याराथन पेरिसको होटल डे भिलेबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पेरिसकै इन्भेलिडेमा आएर टुंगिएको थियो ।

सन्तोषीले दौड पूरा गर्न लाग्दा सिफान आफ्नो राष्ट्रिय झण्डासहित समर्थकसंग खुशी साट्दै थिइन् । त्यही क्रममा दौड पूरा गरेपछि सन्तोषी सिफान भएको ठाउँमा गइन् र अंकमाल गर्दै सिफानलाई बधाइ पनि दिइन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *