पेरिस ओलम्पिक– २०२४ को एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । शुक्रबार औपचारिक उद्घाटन भएपनि केहि खेलहरु भने जुलाई २४ तारिखदेखि नै सुरु भइसकेको छ ।

पेरिसस्थित पोन्ट दि अस्टरलिजबाट सुरु भएको मार्च पास्ट विश्वचर्चित आइफल टावरमा पुगेर टुंगिएको थियो । कडा सुरक्षाबीच भएको उद्घाटन समारोहको मार्च पास्टका लागि ८५ डुंगा प्रयोग गरिएको थियो ।

मार्च पास्टमा नेपालको झण्डा श्यान्टु श्रेष्ठ र मनीता श्रेष्ठ प्रधानले बोकेका थिए । लैंगिक समानतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक– २०२० को संस्करणदेखि पुरुष र महिला खेलाडीलाई मार्च पास्टमा राष्ट्रिय झण्डा बोक्न दिन सुरु गरेको हो ।

पेरिस ओलम्पिकको ३३ औं संस्करणमा नेपालबाट ६ खेलमा ७ खेलाडी सहभागी छन् । ३ पुरुष र ४ महिला खेलाडी सहभागी छन् । टेबलटेनिसमा श्यान्टु श्रेष्ठ र ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्ने छन् । पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले भाग लिने छन् ।

महिलामा सुटिङकी सुस्मिताले १० मिटर एयर राइफल, पौडीकी डुवाना लामाले २ सय मिटर फ्रिस्टायल, जुडोकी मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन (४२.१९५ किलोमिटर) मा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

सन्तोषी बाहेक सबै खेलाडी पेरिसमै छन् । सन्तोषी जुलाइ ३० तारिखमा पेरिस आइ पुग्ने छिन् । सन्तोषीको खेल पेरिस ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा छ ।

सातै नेपाली खेलाडीको यो ‘डुब्यु’ ओलम्पिक हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले गृष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेएता टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो ।

त्यसमा श्यान्टु छनोट चरण पार गरेरै ओलम्पिकमा सहभागी हुन लागेका हुन् । नेपालमै भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगितामा पहिलो हुँदै श्यान्टुले पेरिस ओलम्पिक– २०२४ मा स्थान पक्का गरेका थिए ।

गृष्मकालीन ओलम्पिकमा यस्तो उपलब्धी हात पार्ने श्यान्टु तेश्रो नेपाली खेलाडी हुन् । यसअघि संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेका थिए ।

पेरिस ओलम्पिकमा २ सय ६ राष्ट्रका करिब १० हजार ५ सय खेलाडीले ३ सय २९ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक ४ वर्षको अन्तरालमा हुने ओलम्पिक यो पटक तीन वर्षमा भएको हो ।

३२ औं संस्करणको टोकियो ओलम्पिक २०२० लाई तय भएपनि कोभिड– १९ का कारण २०२१ मा भएको थियो ।

यसैबीच उद्घाटन समारोहको अघिल्लो दिन फ्रान्सस्थित नेपाली दूतावासले पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई स्वागत गर्दै सफलताका लागि शुभकामना दिएको थियो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *