एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले उत्कृष्ट सुरूवात गरेको छ।
शुक्रबार श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियममा नेपालले यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ औं ओभरमा पूरा गर्यो ।
नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ गर्दै ७२ रनको योगदान दिइन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् ।
यसअघि सन् २०१२ र २०१६ मा दुई पटक सहभागिता जनाएको नेपालले यसअघिका सबै ८ खेलमा हार बेहोरेको थियो । नेपालले एसिया कपको नवौं खेलमा पुगेर पहिलो जित दर्ता गर्न सफल रह्यो ।
